Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


‘अब अरु प्रेमहरू राज्यको व्यथितिअघि निरीह हुन नपरोस्’


91
Shares

काठमाडौं । उद्योग व्यवसाय, व्यापारदेखि राजनीतिसम्ममा हात हाल्दासमेत ‘असफल’ भएपछि संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्य अन्ततः ‘राज्यको व्यथितिसँग निरीह’ बन्दै संसारबाट बिदा भएका छन् ।

आफूजस्तै धेरै ‘प्रेमप्रसाद’को कथा आफ्नो देहत्यागसँगै प्रतिनिधित्व गर्दै संसार छाड्दा देशविदेशका नेपाली नागरिक शोकमग्न भएका छन् । सबैतिरबाट ‘असफल भएपछि आत्मदाहको बाटोमा अघि बढ्ने निर्णय गरेको’ भन्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो आत्मकथा लेखेका उनले सोही दिन दिउँसो काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनअघि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरे । सोही क्रममा घाइते उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार बिहान निधन भएको हो ।

कीर्तिपुर बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । आत्मदाह प्रयासअगाडि फेसबुकमा उनले ६ हजार ५ सय ३५ शब्द लामो ‘मृत्युपत्र’ लेख्दै ‘आफू जताततै असफल भएको’ उल्लेख गरेका थिए ।

आफूले आत्मदाह गर्नुपर्ने कारणसहित उनले जीवनको लामो भोगाइ वर्णन फेसबुकमार्फत लेखेका थिए । उद्यमीको परिचय बनाइसकेका उनले जीवनमा गरेका अनेक प्रयास असफल भएपछि सो कदम चाल्नुपरेको वर्णन फेसबुकमार्फत गरेका थिए ।