३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ : ऊर्जा राज्यमन्त्री सिंह


78
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गर्नुभएको छ ।

विद्युत खपत बढाउन विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’ले काठमाडौंमा गरेको कार्यक्रममा राज्यमन्त्री सिंहले गुणस्तरीय विद्युतीय चुल्होको आयात गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराउनुभयो ।

गरिब जनताको घरमा टिकाउ हुने खालको विद्युतीय चुल्हो पुर्‍याउनुपर्ने उहाँको भनाई थियो । राज्यमन्त्री सिंहले विद्युतीय चुल्हो ग्याँसभन्दा सस्तो हुने भएकाले जनतालाई सो कुरा बुझाउन घरघरमा अभियाननै संचालन गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।

उहाँले खाना पकाउने ग्याँसका लागि मुलुकको ठूलो धनराशी देश बाहिर गएको भन्दै यसलाई रोक्न पनि विद्युतीय चुल्होको खपत बढाउनुपर्ने तर्क समेत गर्नुभयो ।

राज्यमन्त्री सिंहले विद्युतीय चुल्होका लागि दिइएको अनुदान दुरुपयोग नगर्न पनि कडा निर्देशन दिनुभयो । नेताका छोराछोरी र कार्यकर्ताले मात्रै यस्ता अनुदान सहायता पाउने गरेको आफूले जानकारी पाएको उल्लेख गर्दै अनुदान लक्षित समूदायमा पुर्‍याउन सचेत गराउनुभयो ।