काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारदेखि चितवनमा शुरु भएकाे प्रथम महाधिवेशनमा साेमबार बन्द शत्र शुरु हुँदैछ ।
चितवनकाे गेष्टहाउस चौरमा महाधिवेशनको भव्य उद्घाटन गरेको रास्वपाले उद्योग संघको प्रर्दशनीकेन्द्रमा साेमबार बन्दशत्र गर्न लागेको हो । रास्वपाले महाधिवेशन अन्तरगत छुटेका नामावली, नाम जुधेका र उजुरी परेका हरुको सच्याउने काम सकिएपछि साेमबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । बन्दशत्रमा पार्टीको सांगठनिक र राजनीतिक लगायतका प्रतिवेदन पेश हुने भएका हुन् ।
केन्द्रीय निर्वाचन आयोगले नयाँ नेतृत्वका लागि निर्वाचन कार्य तालिका पनि साेमबारदेखि शुरु हुनेछ । आयोगले सार्वजनिक गरेको तालिका अनुसार साेमबार दिउँसो १ बजेदेखि उम्मेदवारको मनोनयनपत्र वितरण, दिउँसो २ बजेदेखि ४ बजेसम्म दर्ता र उम्मेदवारहरूको प्रारम्भिक नामावली साँझ ६ बजे सार्वजनिक हुने भएकाे हाे । उम्मेदवारविरुद्ध दाबी तथा विरोध दर्ताका लागि साेमबार साँझ ६ बजेदेखि ७ बजेसम्म तोकिएकोमा त्यस्ता उम्मेदवारकाे बारेमा राति ९ बजेसम्म जाँचगरी उम्मेदवारी फिर्ता लिनका लागि राति सवाँ ९ बजेसम्मको समय निर्धारण गरिएको छ ।
कार्य तालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनका लागि पहिलो चरणको मतदान मंगलबार बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएकाे हाे। महाधिवेशनमा सभापति पदका लागि ५१ हजार र अन्य पदाधिकारीका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी शुल्क २१ हजार रुपैयाँ तोकिएको हाे । सभापतिका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको हाे ।
त्यस्तै, पदाधिकारीका लागि १ जना प्रस्तावक र २१ जना समर्थक चाहिनेछ । केन्द्रीय सदस्यका लागि १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने रास्वपाले जनाएको हाे । मतगणना तथा मत परिणामको घोषणा मतदान सम्पन्न भएको दुई घण्टापछि गरिने तालिकामा उल्लेख गरिएकाे छ । रास्वपाले निर्वाचन विद्युतीय मतदान प्रणालीबाट गर्ने तयारी गरेकाे जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्