२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कपिलवस्तु अस्पताल मुलुककै उत्कृष्ट


234
Shares

कपिलवस्तु । कपिलवस्तुको तौलिहवास्थित कपिलस्तु अस्पताल मुलुककै उत्कृष्ट अस्पताल घोषित भएको छ। न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा देशभरका अस्पतालमध्येमा कपिलस्तु अस्पताल सर्वोत्कृष्ट बन्न सफल भएको हो। स्वास्थ्य निर्देशनालयको एमएसएस स्रोतव्यक्तिको प्रतिनिधिका रूपमा गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्याले कपिलवस्तु अस्पताललाई ९६ प्रतिशत अंकसहित सर्वोत्कृष्ट अस्पताल घोषणा गरेका हुन्। गत वर्ष अस्पतालले ८६ अंक पाएको थियो।

कपिलवस्तु अस्पतालमा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा सो घोषणा गरिएको हो। कपिलवस्तु अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका एमएसएस स्रोत व्यक्ति डा. उत्तम पच्याले बताए। निर्देशनालयको टोलीले दुई दिन अनुगमन र निरीक्षण गरी अस्पतालका सबै पक्षको अनुगमन र मूल्यांकन गरेको थियो। टोलीले अस्पतालबाट प्रदान हुने सेवा, जनशक्ति, सुशासन, पारदर्शितालगायतका विषय समेटेर मूल्यांकन गरेको हो।

आर्थिक वर्ष ०७९/८० मा देशभरका सेकेन्डरी समूह ए अन्तर्गतका अस्पतालहरूमा कपिलवस्तु अस्पतालले राम्रो सेवा दिइरहेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका एमएसएस फोकल पर्सन कौशल भण्डारीले बताए। ‘हामीले अनुगमन र निरीक्षण गर्दा कपिलवस्तु अस्पालको अवस्था राम्रो पायौं’, उनले भने। कपिलवस्तुका मेसु डा. किशोर बन्जाडेले सबैको सामूहिक प्रयासले अस्पताल उत्कृष्ट बन्न सफल भएको बताए। उनले अस्पतालमा अब डाइग्नोसिस र सिटीस्क्यान सेवाका लागि सबैले पहल गर्नुपर्ने बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।