
कैलाली । गोदावरी नगरपालिकाले चार महिनादेखि यहाँ कार्यरत शिक्षकलाई तलब दिन सकेको छैन। चार महिनादेखि तलब नपाउँदा यहाँका शिक्षक आन्दोलित बनेका छन्। शुक्रबार दिउँसो गोदावरी नगरपालिकाका शिक्षकहरू आफ्नो चार महिनादेखिको तलबको माग गर्दै नगरपालिकामै पुगे।उनीहरूले नगरपालिकाअगाडि कालो ब्यानर बोकेर नाराबाजी गर्दै आफूहरूलाई चाँडोभन्दा चाँडो तलब दिनुपर्ने माग अगाडि सारेका हुन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, गोदावरी नगर शिक्षक समिति, नेपाल राहत शिक्षक समितिको संयुक्त आयोजनामा शुक्रबार दिउँसो नगरपालिकाको कार्यालयअगाडि आएर धर्ना दिँदै विरोध गरेका छन्।विरोध कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नरेन्द्रराज शर्माले पटक–पटक तलब नपाएको विषय नगर प्रमुखलाई राख्न खोज्दा भेट्नसमेत नपाएको बताए।
‘हामीले किन तलब पाएनौं भन्दा नगर प्रमुखले हाम्रा कुरा सुन्नु भएन। नगर प्रमुखले हामीलाई भेट्न नचाहेपछि हामीले खुलापत्र लेखेका थियौं, तर पनि हाम्रो सुनुवाइ भएन।त्यसैले आज हामी पुनः नगरपालिकालाई झक्झकाउन यहीं आइपुगेका छौं ।’ यसअघि हरेक महिनामा पाउने तलब कात्तिक महिनादेखि भने नपाएको राष्ट्रिय माध्यमिक विद्यालय बल्मीका शिक्षक दशरथ ओझाले बताए।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्