Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा


273
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई पिंजडामा थुन्न खोजेको त हैन भन्दै प्रश्न गर्नुभएको छ ।

संसदको बिहीबार बसेको बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै कांग्रेस महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्नु भएको हो ।

उहाँले केपी ओली प्रधानमन्त्री भएको बेला त्यस्तै संयन्त्र बनाउ भन्दा संविधानले नचिन्ने संयन्त्र मान्दिन भन्ने तर अहिले आएर किन त्यही संयन्त्र बनाउनुपरेको भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउँभन्दा संविधानले नचिनेको संयन्त्र नबनाउने भन्ने, अनि सँगैको मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको हो ।’

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने क्रममा कांग्रेसले पनि विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले माछा जालमा पारेर ढोक्सामा हाल्ने चाल चालेको त हैन भन्दै कांग्रेसमाथि गरेको प्रश्नको जवाफ दिनुहुँदै शर्माले माछा जालमा पार्ने कांग्रेसको कुनै सोचाई नरहेको प्रष्ट पार्नुभयो ।