
बझाङ, असार ४ । जिल्ला कारागार बझाङका कैदीबन्दी आन्दोलित भएका छन् ।
कारागारमा शुद्ध खानेपानी, शौचालय, ढल निकासको अभाव भएको भन्दै कैदीबन्दी आन्दोलित भएका हुन् ।
उनीहरुले कारागार प्रशासनले आफूहरु बिरामी भएको अवस्थामा समेत उपचारमा वेवास्ता गरेको, कारागारको सरसफाई नगरेको आरोप लगाउँदै कारागारभित्रै नाराबाजीसमेत गरेका छन् ।
कारागार प्रशासनले शुद्ध पिउने पानीको सट्टा फोहोर मिसिएको पानी वितरण गरेकाले आफूहरु आन्दोलनमा उत्रिनु परेको नाईके लक्ष्मण रावलले बताए ।
सरोकारवाला निकायसँग पटक–पटक आग्रह गर्दासमेत सुनुवाई नै नभएको उहाँको गुनासो थियो ।
आफूहरुका माग तत्काल सम्बोधन नगरे थप कडा आन्दोलन घोषणा गर्ने चेतावनी कैदीबन्दीले दिएका छन् ।
जेलर राजेन्द्र बोहोराले भने कैदीबन्दीका समस्या समाधानको प्रयास भइरहेको बताए ।
जिल्ला कारागार बझाङमा २५ जना कैदीबन्दी राख्ने क्षमता भए पनि ५४ जना राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्