Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण अन्त्य गरी दीगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताएका छन् ।

काठमाडौंमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनबारे मंगलबार प्रतिनिधिसभामा जानकारी दिँदै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने–‘बिम्स्टेकलाई प्रभावकारी बनाउन, वातावरणको क्षेत्रमा देखिएको परिवर्तनलाई सामना गर्न, दीगो विकास लक्ष्य हासिल गर्न, सदस्य राष्ट्रका जनता–जनताबीच आवतजावत सहज बनाउन सम्पर्क सञ्जाल विस्तार गर्न तथा साझेदारी र सहयोग बढाउन सम्मेलन निकै उपयोगी हुनेछ ।’

संविधान कार्यान्वयन र तीन तहको निर्वाचनपछि नयाँ सरकारले आयोजना गरेको पहिलो ठूलो कार्यक्रमकारुपमा बिम्स्टेक शिखर सम्मेलन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने–‘यस क्षेत्रका जनताको आर्थिक समृद्धि, यातायात सञ्जाल विस्तार तथा बौद्ध परिपथ निर्माण र विस्तार गर्ने अपेक्षा गरिएको छ ।’

नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्यान्ड राष्ट्र सम्मिलित बिम्स्टेकको अध्यक्ष राष्ट्रकारुपमा सन् २०१४ देखि नेपाल रहेको छ ।

यसपटकको शिखर सम्मेनको नारा ‘शान्ति, समृद्धि र दीगो बंगालको खाडी’ भन्ने रहेको छ ।

प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने शिखर सम्मेलन २० वर्षको अवधिमा चारपटकमात्र भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान निर्माण, तीन तहको निर्वाचन गर्नुपरेका कारण केही ढिलाइ भएपनि अहिले शिखर सम्मेललाई साकार पार्न नेपाल जुटिरहेको बताए ।

विभिन्न १४ ओटा क्षेत्र समेटिएका बिम्स्टेकको स्थापना सन् १९९७ मा थाइल्यान्डमा भएको थियो ।

बिम्स्टेकलाई केबल संगठनकारुपमामात्र नभइ क्षेत्रीय विकास र सहयोगका लागि प्रभावकारी संगठनकारुपमा लैजानुपर्छ भनेर ढाका सम्मेलनपछि व्यापार, सम्पर्क सञ्जाल, जलवायु परिवर्तन, आतंकवाद नियन्त्रण र गरिबी निवारणका अतिरिक्त सामुद्रिक र हिमालयन अर्थतन्त्रसम्बन्धी विषयवस्तु समेटेर काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।

शिखर सम्मेलनकाक्रममा काठमाडौंमा रहँदा सदस्य मुलुकका सरकारका राष्ट्रप्रमुख र सरकार प्रमुखबीच औपचारिक भेटघाट तथा दुईपक्षीय हितका विषयमा हुने छलफल र परामर्श कार्यक्रममा सहभागी रहने उनले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिखर सम्मेलनमा सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखको भेटघाटको कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रको हैसियतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को पनि शिखर सम्मेलन छिटै होस् भने चाहिरहेको बताए । रासस