Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


शाकिराको नयाँ गीतले तोड्यो युट्युबको रेकर्ड


5.1k
Shares

एजेन्सी । कोलम्बियन गायिका शाकिराको गीतले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ । 

उनको गीत अपलोड भएको २४ घण्टामा ६३ मिलियन बढी भ्युज पाएर रेकर्ड राखेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त गीतले ल्याटिन गीतहरूमध्ये छोटो समयमा सर्वाधिक बढी हेरिएको बताएका छन् ।

यो समाचार तयार पार्दा गीतले १ सय २० मिलियन बढी भ्युज पाएको छ । चार मिनेट लामो यो पप गीत शाकिराले अर्जेन्टिनी प्रोड्युसर तथा डिजे बिजार्‍यापसँग सहकार्य गरेकी छन्। उनीहरूको यो पहिलो सहकार्य हो। 

यो गीतमा उनले बार्सिलोनाका फुटबल खेलाडी तथा उनका पूर्वपति जेरार्ड पिकेले दिएको धोकालाई गीतको विषयमा बनाएकी छिन् । उनले गीतमा पिकेकी २३ वर्षीया प्रेमीकाको समेत कुरा गरेकी छन् । उनले पिकेकी प्रेमीकालाई गीतमार्फत कटाक्ष गरेकी छन् ।

उनले गीतमा कर नतिरेको आरोपबारे स्पेनिस कर अधिकारीलाई पनि व्यंग्य गरेकी छन्। २०१२ देखि २०१४ सम्म आयकर नबुझाएको भन्दै उनलाई ८ वर्ष जेल सजाय हुने बताइएको थियो।

स्पेनिस अभियोजकले १४.५ मिलियन यूरो अर्थात् १८८ करोड रुपैयाँ बराबरको कर छली गरेको आरोप लगाएको थियो। शाकिराले उक्त दाबीलाई अस्वीकार गर्दै काल्पनिक कहानी बताएकी छन्।

केही समयअघि शाकिराले विज्ञप्ति जारी गर्दै सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिएकी थिइन् । यी दुईको भेट १२ वर्षअघि भएको थियो। सन् २०१० को विश्वकपमा शाकिराले ‘वाका वाका’ गीतको भिडिओ छायांकन गर्ने क्रममा उनीहरू नजिकिएका थिए। उनीहरूको दुई सन्तान मिलान र साशा छन्।