Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


सुखद अन्त्य गुमेको राजनीति

तीव्र गतिमा फेरिएका दृष्य

65
Shares

काठमाडौं । नजानु पराजुल भयो, नजानु भात भयो, न धित रह्यो, न धर्म रह्यो, उसैको जात गयो।प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिको सुखद अन्त्यको अवसर गुमाए। ज्योतिषी भविष्यवाणीले साथ नदिए पनि सत्तालोभ हटेन। उनको मात्रै नभै अरू नेताले पनि पार्टी सत्ता र राजकीय नेतृत्व हस्तान्तरण नगरेर सुखद समापनको मौका चुकाएका छन्। आफैँलाई केन्द्र सोच्ने नेतृत्वले पार्टी संस्थागत गर्दैनन्, पार्टी र सरकार नेतृत्व गर्ने भरपर्दो उत्तराधिकारी तयार गर्न पनि ध्यान दिँदैनन्।

देशले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पायो। धर्मनिरपेक्षतावादी र अन्ध-धर्मवादी, राजतन्त्रवादी र गणतन्त्रवादीको संयुक्त सरकारका रोडम्यापका सिद्धान्त, नैतिक र आदर्श राजनीतिअनुसार यात्रा त्यति सहज छैन। सरकारमा सहभागी दल र मन्त्रीहरू नियाल्दा उदेक लाग्छ। नवनियुक्त प्रधानमन्त्रीले भूसंवेदनशील आन्तरिक र बाहिरी स्वार्थको कसरी व्यवस्थापन गर्लान् ! फलामको च्यूरा चपाएझैँ हुनेछ।

राजनीतिमा हिजो नभै भोलि हेरिन्छ। प्रधानमन्त्री निराश जनमतलाई आशा जगाउने, बिग्रेको अर्थतन्त्र फेर्ने, सत्ताचरित्र फेर्ने के, के योजना छन्, नियाल्नै पर्छ। देश क्लेप्टोक्रेसी (चौतर्फी भ्रष्टीकरण) मा फसेको छ। भ्रष्टीकरण राष्ट्रिय चरित्र बनिसक्यो। सत्ताको नयाँ टिमलाई अहिल्यै बात लगाउन हतार हुन्छ। संसदीय अभ्यासमा विश्वासको मत र मधुमास (सय दिन) सुविधाको समय हो। यसपछि राजनीतिभित्र पोलिटिक्स सुरु हुनेछ। कतिपय पार्टी सग्ला रहने छैनन्। समीकरणको परिणाम आकलन गर्न नसके पनि सङ्केतले सन्देश दिइसक्यो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।