
काठमाडौं । बागमती प्रदेशसभामा बिहीबार प्रदेश सभाको सभामुखका लागि मनोनयन दर्ता हुने भएको छ ।
प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार बिहीबार बिहान साढे १० देखि दिउँसो २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय दिइएको छ ।
पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको थियो ।
सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गते नै सुरु गर्ने निर्णय गरे पनि त्यसलाई संशोधन गरी एक दिन पछि सारिएको थियो ।

सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । राप्रपाले बुधबार पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
सभामुख चयनका लागि शुक्रबार निर्वाचन हुनेछ । नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यमध्येबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
प्रदेशसभा नियमावली २०७४ मा पहिले सभामुखको निर्वाचन गरिसकेपछि मात्रै उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना सांसद छन् । केन्द्रको गठबन्धनअनुसार बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपाको समीकरण छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई केन्द्रको समीकरणभन्दा बाहिर रहेका नेकपा एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पनि सर्मथन गरेका थिए ।
सभामुख निर्वाचित हुन ५१ प्रतिशत मत पाउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्