ओली प्रवृत्तिमा नलाग्न प्रधानमन्त्री दाहाललाई माधव नेपालको आग्रह « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


ओली प्रवृत्तिमा नलाग्न प्रधानमन्त्री दाहाललाई माधव नेपालको आग्रह


520
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझैं स्विकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उहाँले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनु भएको हो ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गतिदिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ बुदे शर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बुँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल अघि बढने विश्वास समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढन पनि प्रधानमन्त्री दाहाललाई सचेत गराउनुभयो ।

अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठिक गरे भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्ति समेत जनाउनुभयो । उहाँले विश्वासको मत लिने बेलामा गरेका प्रतिवद्धताहरु पूरा गर्ने काममा केन्द्रित हुन पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभयो । सरकारले जनतालाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उहाँको भनाई थियो ।

अध्यक्ष नेपालले सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न आफ्नो पार्टीले घच्घच्याई रहने पनि बताउनुभयो ।

अध्यक्ष नेपालले देशलाई विदेशीहरुको क्रिडाभूमि बन्न नदिने काममा पनि वर्तमान सरकार सचेत रहनुपर्ने समेत बताउनुभयो ।