प्रदेश-१ को मुख्यमन्त्रीमा कार्की « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


प्रदेश-१ को मुख्यमन्त्रीमा कार्की


104
Shares

इटहरी । प्रदेश-१ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । संविधानको धारा ६८९२० अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभाका ६० सांसदको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । यससँगै उनी प्रदेश-१ का चौथो मुख्यमन्त्री बनेका छन् । एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एकजना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका थिए । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबीका लागि आइतबार साँझसम्मको समयसीमा दिएका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ४० सांसद छन् ।

दोस्रो स्थानमा रहेको कांग्रेससँग २९ र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रसँग १३ सांसद छन् । राप्रपासँग ६, नेकपा एकीकृत समाजवादीसँग चार र जसपासँग एकजना सांसद छन् । प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपाको मत जोड्दा ६० सिट पुग्छ । ९३ जनाको प्रदेशसभामा बहुमतका लागि ४७ जना आवश्यक पर्छ । कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ (क) बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि शेरधन राई मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री भएका उनी यसपटक माओवादी, राप्रपा र जसपासहितको साथबाट मुख्यमन्त्री बनेका हुन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ओलीका विश्वासिला पात्र मानिन्छन् । एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाको संसदीय दलका नेताको हस्ताक्षरसहितको दाबी पत्र कार्कीले प्रदेश प्रमुखलाई आइतबार बुझाएका थिए । उनै कार्कीसहित माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाकी संसदीय दलकी नेता निर्मला लिम्बुले दाबीपत्रमा हस्ताक्षर गरेका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।