Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण


416
Shares

काठमाडौं । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन । यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

टेलिकमका प्रवक्ता सोभन अधिकारीका अनुसार फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइलको उपलब्धता अध्ययन गरेपछि यसको परीक्षण सुरु हुनेछ । ‘आन्तरिक रूपमा गर्नुपर्नेसबै परीक्षण भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘तर, जब मोबाइलमा यसको परीक्षण सुरु गरियो, मोबाइल सेट नै धेरै कम भएको पाइयो ।’

टेलिकम अहिले भने बजारमा २६ सय मेगाहर्ज ब्यान्ड सपोर्ट गर्ने मोबाइलको उपलब्धताको सर्वेक्षणमा जुटेको छ । त्यसका आधारमा अबको केही हप्तामै यसको सार्वजनिक परीक्षण सुरु गरिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एक वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने सर्तसहित टेलिकमलाई २६ सय मेगाहर्जमा आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको थियो तर धेरैजसो मोबाइलले २६ सय मेगाहर्ज सपार्ट नगर्ने पाइएको टेलिकमले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।