
अक्कल कुँवर/दिलिप पोखरेल (इमेज)
काठमाडौं, भदौ ११ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै यही भदौ १ गतेदेखि मुलुकी संहिता लागू भयो ।
लागू भएकै दिनदेखि संहितामा रहेका केही प्रावधान संशोधन गर्नुपर्ने आवाज उठिरहेको छ ।
संहिता निर्माणमा कुनै न कुनैरुपमा निर्णायक भूमिका रहेका उच्च राजनीतिक नेतृत्वलेसमेत संहिता संशोधनको माग गर्न थालेका छन् ।
भदौ १ गतेदेखि लागू भएको अपराध संहिता र मुलुकी देवानी संहितालगायत पाँचओटा ऐनले झन्डै ५५ वर्षसम्म निरन्तर रहेको मुलुकी ऐनलाई प्रतिस्थापन गरेको छ ।
यो संहिता पूर्णरुपले नयाँ नभएपनि कतिपय नयाँ अपराधको पहिचान गरेको छ ।
विगतमा कानुनको दायरामा नरहेका कतिपयलाई अपराधलाई समावेश गरेको छ । सबै विषयहरुलाई समेटेर छरिएर रहेका कानुनहरुलाई यसले एक ठाउँमा ल्याएको छ ।
धेरैले यो नयाँ ऐनलाई नेपालको कानुनी इतिहासमा भएको ठूलो परिवर्तन भनेका छन् ।
तर, संहिता लागू हुनुपहिलेदेखि नै प्रेस र चिकित्सासम्बन्धी केही प्रावधानप्रति विरोध हुँदै आएको छ ।
त्यतिमात्र नभइ मुलुकी संहितामा कुनै न कुनै भूमिका रहेका राजनीतिक नेतृत्वले नै संहिता परिमार्जनको माग राखेका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता, चिकित्सा पेसा र प्रहरी अनुसन्धानलाई असर पुर्याउनसक्ने केही प्रावधान संशोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् ।
यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि अपराध र फौजदारी संहिताका केही प्रावधान त्रुटिपूर्ण रहेको भन्दै संशोधन गर्न माग गरेका छन् ।
असन्तुष्ट पक्षका माग समेट्न र संहितालाई पूर्ण बनाउन संहिता निर्माणमै केन्द्रीय भूमिका निर्वाह गरेका नेतृत्वले संशोधनको माग उठ्नु स्वाभाविक हो ।
तर, लागू भएको दुई साता नबित्दै राजनीतिक नेतृत्वबाटै संशोधनको माग हुनुले संहिता कार्यान्वयन सहज नहुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्