Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


सरकार ! यही हो सहज सेवा ?


117
Shares

काठमाडौं । अघिल्लो साता गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारी सेवा पाउन लाममा बस्नुपर्ने अवस्था हटाउने निर्णय गरेलगत्तै धेरैले सेवा सहज हुने आशा गरेका थिए । तर काठमाडौं उपत्यकाका पाँच स्थानमा रहेका यातायात व्यवस्था कार्यालयमा बिहीबार पुग्दा सेवाग्राहीका निम्ति असहज स्थितिको पराकाष्ठा देखियो ।

कतै पुसको ठिहीमा बिहानैदेखि लाममा बसेका सेवाग्राहीको गुनासो सुनियो त कतै बालक काखी च्यापेर लामो लाममा बस्नुपर्दाको पीडा देखियो ।

सेवा सहज बनाउने सरकारको निर्णयले आश्वस्त भएका सर्वसाधारण घन्टौं लाममा बस्दा पनि सेवा नपाएपछि मलिन देखिन्थे । उनीहरू सबैको प्रश्न थियो, यही हो सहज सेवा  ?

भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयमा बिहान १०ः३० बजे पुग्दा सेवाग्राहीको ठुलो लाम देखियो । सवारी अनुमतिपत्रका लागि त्यहाँ पुगेका उनीहरूले घन्टौंदेखि लाममा बस्न बाध्य भएको गुनासो आपसमा गरिरहेका थिए । ‘यही हो सहज सेवा  ?’ यो संवाददाताले तस्बिर खिचेको देख्नासाथ लाममा रहेका सेवाग्राही विक्रम शाक्यले गुनासो पोखिहाले, ‘घन्टौंदेखि सयौं जना लाममा छन् तर काम गर्ने कर्मचारी निकै कम रहेछन् ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।