Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


सत्ता गुमेपछि कांग्रेसमा आरोप–प्रत्यारोप


871
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ । सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र बन्न पुगेको छ । प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद आफैंसँग राख्ने कांग्रेस अडानपछि माओवादी केन्द्र पुरानो गठबन्धन छाड्दै एमालेसँग जोडिन पुगेको थियो ।

संस्थापन इतरका नेताहरूले यस्तो परिस्थिति सिर्जना हुनुको सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताउँदै आएका छन् । सभापति देउवासहितको सानो समूहको सत्तालिप्साका कारण पार्टीले संघदेखि प्रदेशसम्मका महत्वपूर्ण पद गुमाएको निष्कर्ष उनीहरूले निकालेका छन् । पार्टी केन्द्रीय समितिको पुस २२ गतेबाट सुरु हुने बैठकमा सत्ता गुमेको विषयलाई लिएर आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा संस्थापन इतरका नेताहरू छन् । इतरका नेता शेखर कोइरालाले पार्टी नेतृत्वको असावधानीका कारण अहिलेको अवस्था आएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनुपर्ने तर्क गरेका छन् ।

सरकार गठन प्रक्रियामा वार्तामा रहेका नेता रामचन्द्र पौडेलले पनि अहिलेको अवस्था आउनुमा सभापति देउवा नै जिम्मेवार रहेको बताएका छन् । सरकार गठन प्रक्रियामा भएको छलफलकै क्रममा आफूले सभापति देउवालाई अहिलेको परिस्थिति आउने भन्दै अरूको भर नपर्न आग्रह गरेको दाबी गर्दै पौडेलले केन्द्रीय समितिको बैठकमा त्यस विषयमा फेरि कुरा उठाउने बताएका छन् ।

माओवादी केन्द्र कांग्रेसबाट अलग्गिएर एमालेसँग मिल्न जाँदैन भन्नेमा सभापति देउवा ढुक्क देखिएको बताउँदै पौडेलले माओवादी गइहाले पनि उसलाई एमालेले समर्थन गर्दैन भन्नेमा कसैले आश्वस्त गराउँदा अहिलेको अवस्था आएको विश्लेषण गरे । अहिलेको परिस्थिति कसरी आयो भन्ने विषयमा बैठकमा सभापति देउवाले नेता–कार्यकर्तालाई जवाफ दिनुपर्ने पौडेलको भनाइ छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।