सडक भासिएपछि बेलिब्रिज जोखिममा • Image Khabar Image Khabar


सडक भासिएपछि बेलिब्रिज जोखिममा


Imagekhabar
३ असार २०७५, आईतवार २०:०५

सडक भासिएपछि बेलिब्रिज जोखिममा

म्याग्दी, असार ४ । बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भासिएको छ ।

रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ वाल भत्किएर सडक भासिएपछि बेलिब्रिज जोखिममा परेको छ ।

आईतबार दिउँसो पुलको गलेश्वर तर्फको बिमदेखि करिब पाँच मिटर नजिकको सडक भाँसिएको हो ।

खोलाले धार थप कटान गर्दै जाँदा पुल र नजिकैको बस्ती जोखिममा परेको स्थानीयवासी दीपक कार्कीले बताए । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्कामार्फत गलेश्वरस्थित रघुगंगा नदीमा पक्की मोटरेबल पुल निर्माण शुरु गरेको छ ।

पुलको पिप्लेतर्फको पिल्लर ठडाउने खाडल खन्न खोलाको धार गलेश्वरतर्फ डाईभर्सन गराइएकाले कटान गरेर सडक भासिएको हो । सडक भासिएर कटानको जोखिम बढेपछि ठेकेदार कम्पनीले पिल्लरको जग खन्ने काम रोकेर संरक्षणको काम शुरु गरेको छ ।

जिसस प्रमुख देवेन्द्र केसी, प्रजिअ लिलाधर अधिकारी, प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा, पूर्वसांसद गोविन्द पौडेलको टोलीले स्थलगत निरीक्षण गरेर जोखिम न्यूनीकरणको उपाय अपनाउन निर्देशन दिए ।

खोलाको धार पुरानै स्वरुपमा फर्काउन र जोखिम नहुने गरी सावधानी अपनाएर काम गर्न आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिइएको प्रजिअ अधिकारीले बताए । (रासस)

 

प्रतिक्रिया दिनुहोस्