काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। झन्डै पाँच दशकदेखि पोखरेलीले देखेको सपना अन्तर्राष्ट्रिय विमानस्थल आइतबार औपचारिक रूपमा सञ्चालनमा आएको हो। विमानस्थल सञ्चालनसँगै पहिलो दिन पोखरेलीले अन्तर्राष्ट्रिय उडान पनि चाहेका थिए। तर त्यो चाहना भने पूरा हुन सकेन।लामो संघर्षपछि आफ्नै आँगनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पोखरेली निकै खुसी देखिए।
विमानस्थल उद्घाटनमा हजारौं पोखरेली सहभागी भए। त्यही खुसीयालीमा आइतबार पोखरा महानगरपालिकाले शिक्षण संस्थामा बिदासमेत दिइएको थियो। विमानस्थल पाएको खुसीयालीमा हजारौं पोखरेली झाँकी, र्यालीसहित विमानस्थल परिसरमा भेला भए। विभिन्न आमा समूह, क्लब, व्यावसायिक समूह, धार्मिक संस्थाले झाँकी प्रस्तुत गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे। दाहालले यो विमानस्थलबाट पोखराको मात्र नभएर सिंगै राष्ट्रको विकासमा योगदान पुग्ने बताए। ‘हामी सबैको सपना यो विमानस्थल निर्माण होस् भन्ने थियो,’ उनले भने, ‘त्यो सपना पूरा भयो।’
पहिलो दिनको अभ्यास उडानका क्रममा हिमालय एयरलाइन्सको एयरबस ३२० जहाजसमेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमानस्थलका प्रवक्ता अनुप जोशीले हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज अवतरण गरेपछि पोखराको यो विमानस्थल ठुला जहाजको उडान र अवतरणका लागि योग्य प्रमाणित भएको बताए। ‘एयरबस ३२० जहाजका लागि पनि विमानस्थल योग्य रहेको प्रमाणित भएको छ,’ जोशीले भने।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्