Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: पाँच दशकदेखिको सपना पूरा


377
Shares

पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै साढे सात दशकपछि भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जेठमा उडान भर्न थालियो । त्यसको आठ महिनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। यो मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आइतबार सञ्चालनमा आएपछि झन्डै पाँच दशकदेखिको पोखरेली सपना पूरा हुनेछ। झन्डै पाँच दशकअघि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता ठहर गर्दै जग्गा अधिग्रहण गरेर राखिएको थियो ।

त्यही जग्गामा बनेको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरी पोखराले आफ्नो ‘कनेक्टिभिटी’ बढाउँदैछ। अहिलेसम्म अन्तर्राष्ट्रिय पहुँचका लागि काठमाडौंस्थित त्रिभुवन विमानस्थलको भर पर्दै आएको पोखराले अब सिधै विभिन्न मुलुकसँग हवाई उडानमार्फत आफूलाई जोड्नेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन क्षेत्रका लागि नयाँ ढोका खोल्ने पोखरेलीेको आशा र विश्वास छ । विमानस्थल बनाउन लामो समय अगुवाइ गरेका विश्वशंकर पालिखे भन्छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सानो मेहनतले बनेको पूर्वाधार होइन । लामो संघर्षको फल पोखराले बल्ल पाउँदैछ ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।