Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी


221
Shares

काठमाडाैं । सरकारले अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले सो जानकारी गराउनु भएको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको २४ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा हवाई उडान सेवा सम्झौंताको प्रक्रियालाई अघि बढाएको पनि स्पष्ट पार्नु भयो ।

बाह्य पर्यटकहरुको संख्या नेपालमा बढदै गएकाले पनि ती देशहरुमा सिधा हवाई उडानको आवश्यक्ता रहेकाले सरकारले सो कामलाई प्राथमिकताका साथ अघि बढाएको सचिव अधिकारीको भनाइ थियो ।

उहाँले भन्नु भयो, ‘अमेरिकासँगको एयर सर्भिस एग्रिमेन्ट, स्वीजरल्याण्डसँगको, रुवान्डासँगको एयर सर्भिस एग्रिमेन्टको प्रोसेस अगाडि बढेको छ । हामी अरु देशहरुसँग पनि जहाँ धेरै सम्भावना छ । त्यहाँ एयर सर्भिस एग्रिमेन्ट गर्दै जाऊ । एउटा एयरलाईन्सहरुबीचको एलाईन्स यसले निर्माण गर्छ । हाम्रो यात्रुहरुको संख्या बढछ । किनकी टुरिज्म सेक्टर रिभाईभ हुँदैछ । टुरिष्टहरुको संख्या बढिरहँदाखेरी एभिएशन मार्केट पनि बढदै जान्छ । त्यसका लागि हामीले ग्लोबल्ली र सम्भावित देशहरुसँग एयर सर्भिस एग्रिमेन्ट गर्दै जानुपर्ने आवश्यक्ता रहन्छ ।’

कार्यक्रममा बोल्दै नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दूर्गम क्षेत्रहरुमा उडान भर्ने वायु सेवा कम्पनीहरुलाई आर्थिक राहत पु¥याउनका लागि अतिरिक्त समय संचालन शुल्क खारेज गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले दूर्गम क्षेत्र हवाई कोष संचालन कार्यविधिको मस्यौदा तर्जुमा गरी त्यहाँ उडान भर्ने वायु सेवा कम्पनीहरुको उडान घाटा परिपूर्ति गर्ने कामलाई अघि बढाइको पनि बताउनु भयो ।

प्राधिकरणले नेपालगंज विमानस्थलबाट दूर्गम क्षेत्रहरुमा महंगो भाडा तिरी चार्टर उडान गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता समेत जनाउँदै आएको छ । कार्यक्रममा बोल्दै क्याप्टेन रामेश्वर थापाले हवाई सेवालाई अझै बलियो बनाउने गरी काम गर्न टे«ड युनियनहरुलाई आग्रह गर्नु भयो । उहाँले हवाई सेवाको कामले गति लिने वित्तिकै त्यसबाट आउने मुनाफा ट्रेड युनियनहरुको हितमा हुने समेत स्मरण गराउनु भयो ।

क्याप्टेन थापाले नेपाल नागरिक उडड्यन प्राधिकरणले हवाई उडानलाई व्यवस्थित बनाउन पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।