Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


दाहालप्रति कांग्रेस सकारात्मक


143
Shares

काठमाडौं । वर्तमान सत्ता गठबन्धनबाट पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेस सकारात्मक देखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई नयाँ सरकार बनाउन दिएको समयसीमा यही पुस १० गतेसम्म छ। दाहालले गठबन्धन दल र नेकपा एमालेसँग सरकार निर्माणका विषयमा समानान्तर संवाद अघि बढाएपछि उनलाई पहिलो चरणमै प्रधानमन्त्री दिन कांग्रेस सकारात्मक देखिएको हो।

दाहाललाई प्रधानमन्त्री बनाउन एमाले लचिलो बनेको संकेत पाएपछि कांग्रेस पनि उनीप्रति सकारात्मक बनेको स्रोत बताउँछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा मुलुक गम्भीर संकटबाट गुज्रिरहेको र संकट समाधानमा दाहालबाट प्रतिबद्धता आए प्रधानमन्त्रीमा समर्थन गर्न सकिने संकेत गरेका थिए।

कांग्रेसले राष्ट्रपति आफूले लिएर दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन सकिने संकेत गरेको स्रोतले बतायो। दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेसले संस्थागत निर्णय भने गरेको छैन। ‘प्रचण्ड (दाहाल) जीले प्रधानमन्त्रीमा दाबी गर्नुभएको छ। तर यस विषयमा पार्टीले निर्णय गरिसकेको छैन,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने। प्रधानमन्त्रीका विषयमा कांग्रेसले निर्णय गरिनसके पनि राष्ट्रपतिले दिएको समयसीमाभित्र गठबन्धनबाटै सरकार बन्ने उनले बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।