Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सत्ता भागबन्डामा कसरत: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

देउवा, प्रचण्ड र माधव नै निर्णायक

663
Shares

काठमाडौं । ‘पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदै छ । उच्च स्रोतका अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा एउटा खाका बनेको छ ।

त्यस्तै, राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री कांग्रेसलाई दिने गरी अर्को मोडालिटी बनेको छ भने राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिने र प्रधानमन्त्री कांग्रेसले राख्ने गरी तेस्रो मोडालिटी तयार गरिएको छ । तर, माओवादी केन्द्र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न तयार नहुने अवस्थामा तेस्रो मोडालिटीलाई कम महत्व दिइएको स्रोत बताउँछ । औपचारिकरूपमा कांग्रेसले पनि ती दुवै पदमा दाबी गर्दै आइरहेको छ । यस्तो अवस्थामा पहिलो मोडालिटीमा सरकार बनाँउदा राष्टपति कांग्रेस, प्रधानमन्त्री माओवादी केन्द्र, उपराष्ट्रपति माओवादी केन्द्र, सभामुख कांग्रेस, उपसभामुख एकीकृत समाजवादी र राष्ट्रिय सभा अध्यक्ष एकीकृत समाजवादीलाई दिने विषयमा छलफल भइरहेको छ ।

यही खाकालाई नै अन्तिम रूप दिनेगरी गठबन्धनमा छलफललाई गति दिने तयारी छ । ‘पावर सेयरिङमा तीनवटा खाका तयार भएको छ, कांग्रेसले राष्ट्रपति लिने कि प्रधानमन्त्री भन्ने कुरा मुख्य हो, दुवै पदमा दाबी छाड्दा तयार गरिएको खाकाबाट नै सहमति निस्किन्छ,’ उच्च स्रोतले राजधानीसँग भन्यो, ‘कांग्रेसलाई राष्ट्रपति, माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा सहमति बन्न सक्छ ।’ गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रबाट वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, एकीकृत समाजवादीबाट झलनाथ खनाल तथा गठवन्धनकै सहयोगी डा. बाबुराम भट्टराईको नाम चर्चामा छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।