काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।
सभापति देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बस्नुभएको छ । त्यस्तै, महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला प्रस्तावक बन्नुभएको छ भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गर्नुभएको छ ।
संस्थापन पक्षबाट देउवा निर्विकल्प दलको नेताको उम्मेदवार हुने पहिला नै पक्का भए पनि संस्थापनइतर समूहबाट कसलाई बनाउने भन्ने लामो छलफलपछि मनोनय दर्ता गर्नुभन्दा २ घण्टाअघि मात्रै महामन्त्री थापालाई अघि सार्ने निर्णय भएको हो । थापालाई अघि सार्ने कोइराला समूहको निर्णयले सभापति तथा प्रधानमन्त्री देउवासँग बलियो दावेदारी प्रस्तुत गरिएको संस्थापन समूहका नेताहरूले बताएका छन् ।
सहमहामन्त्री जीवन परियारले भन्नुभयो– ‘दलको नेतामा टिमबाट एक जना त्यो पनि आम जनताको भावना समेट्ने युवालाई मात्रै उम्मेदवार बनाउने निर्णयले कांग्रेसका नेता कार्यकर्तामा सकारात्मक सन्देश प्रवाह भएको छ । यसले अर्को समूहमा भएका र कतै नखुलेका सांसदहरूले समेत परिवर्तनको पक्षमा मतदान गर्ने भएका छन् ।’ उहाँका अनुसार गगन थापाको पक्षमा नयाँ र युवा अनुहारहरू खुलेर लाग्न थालेका कारण दलको नेतामा थापाले जित्ने सम्भावना बढ्दै गएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्