हराएकी १७ वर्षीया किशाेरीको डेढ महिनापछि दिल्लीबाट उद्धार « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


हराएकी १७ वर्षीया किशाेरीको डेढ महिनापछि दिल्लीबाट उद्धार


1.872k
Shares

काठमाडाैं । अर्घाखाँचीबाट हराएकी एक किशाेरीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट आज उद्धार गरिएको छ । गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया किशाेरीलाई शान्ति पुनःस्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिल्लीको कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा किशाेरीलाई ललाइफकाइ भारत पुर्‍याउने सन्धिखर्क नगरपालिका–६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

किशाेरीको अभिभावकले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र शान्ति पुनःस्थापना केन्द्र बाँकेमा निवेदन दिएका आधारमा खोजी गर्ने क्रममा भारतको नयाँदिल्लीमा किशाेरीलाई फेला पारिएको थियो । भारतीय प्रहरीको सहयोगमा उनको खोजतलास गर्न १० दिन समय लागेको थियो । उद्धार गरिएकी किशाेरीलाई परिवारको जिम्मा लगाउने तयारी भएको शान्ति पुनःस्थापना गृह बाँकेका संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो ।