
काठमाडौं । राजधानी लगायतका विभिन्न भागमा बिहीबार यःमरी खाएर र उधौली नाचेर धान्यपूर्णिमा पर्व मनाइयो । काठमाडौंमा पनि नेवार समुदायले यःमरी अर्थात् मनपर्ने रोटी खाएर र प्रकृति पूजक किराँत समुदायले उधौली नाचेर यो पर्व धुमधामसँग मनाए । ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतहरूको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा किराँत चाड विशेष रूपमा मनाइयो ।पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायत नाँच नाचेर मनोरञ्जन गरियो ।
पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परागत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गरेका थिए । यसै गरी, नेवार समुदायले यःमरी पुन्हिका नामले यही पर्व मनाएका छन् । नेवार समुदायमा यःमरी, तिल, चाकु, खुवा राखी नयाँ धानको चामलको पिठोलाई अण्डा आकारको चुच्चो रोटी बनाएर बफाएर पकाउने र खाने चलन छ ।नेवार भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी वा मिठाइ भन्ने अर्थ लाग्छ । यःमरी पञ्चतत्वको रुपमा खाने गरिन्छ । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिनेगरेको पाइन्छ ।
विशेषगरि काठमाडौं उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।यसका साथै धान्य पूर्णिमाको साँझ नेवारी समुदायको वाहुल्यता रहेको टोलटोलमा देउसी, भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई यःमरी माग्ने चलन पनि रहेकोछ । यःमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्षको रुपमा लिइन्छ । मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा यः मरी पुन्ही भनिन्छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्