‘गठबन्धन संस्कृति’ वैचारिक राजनीतिको ओरालो यात्रा ! « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


‘गठबन्धन संस्कृति’ वैचारिक राजनीतिको ओरालो यात्रा !


156
Shares

गठबन्धनले गएको दुईवटा चुनावमा राजनीतिक बजारमा एकाएक नेता र पार्टीहरूको भाउ घटाउने काम गर्‍यो । जबजब राजनीतिमा निष्ठा, सिद्धान्त र विचारको मृत्यु हुन्छ अनि गठबन्धन, एकता र मिलीजुलीजस्ता शब्दावलीहरू जनताका नजिकमा हुत्याइन्छन् । बास्तवमा यो मतदातालाई वैचारिक रूपबाट बाहिर निकालेर बन्धक बनाउने एक प्रकारको पासो हो। गठबन्धन भन्नु ‘कालेकाले मिलेर खाउँ भाले’ भन्ने प्रवृत्ति हो । यो लोकतन्त्रको त्यो सिन्डीकेट हो जहाँ मतदातालाई आफूलाई मन लागेको राम्रो उम्मेदवारमा मत खसाल्नबाटै वञ्चित गरिएको हुन्छ । पार्टीहरूले हाइ कमाण्डमा गरेको वार्ता र सहमतिका आधारमा मात्र पार्टीहरूको कुत्सित फाइदाका लागि मतदाताहरूलाई समेत एकाएक बन्धकमा पारेर जबर्जस्ती फलानोफलानो चिन्हमा मत खसाल भन्नु जतिको अराजनीतिक अरू केही होइन । यस्तो संस्कृतिले सोझै राजनीति मर्छ !

अर्को कुरा, ल पार्टीहरू गठबन्धन नगरी नसक्ने भए रे ! सत्तामा रहेकाहरूलाई सत्ताको तर मार्न र सत्ताबाहिर रहेकाहरूलाई सत्तामा जानका लागि सजिलो भर्‍याङ गठबन्धन हुनसक्ला रे ! यी दुवै कुतर्क एकछिनलाई मान्दिऊँ । तर के यसो भन्दैमा आफ्नो नीति, सिद्धान्त, विचार र कार्यशैली मिल्नेसँग गठबन्धन गर्नु पर्छ कि कहिल्यै कुनै मोडमा भेट नहुने उत्तरी र दक्षिणी ध्रुव भएका राजनीतिक पार्टीका बीच गठबन्धन हुनु पर्ने हो ? यी राजनीतिक क्षेत्रमा सोधिने यक्ष प्रश्नहरू हुन् तर यी प्रश्नको उत्तर दिने हिम्मत कसैले गर्न सकेका छैनन् ।

गत मङ्सिर ४ गतेको चुनावमा धेरैजसो राजनीतिक विश्लेषकहरूले सत्तासीन काँग्रेसको नेतृत्वमा भएको ५ दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेको नेतृत्वमा भएको ४ दलीय गठबन्धनलाई व्यङ्ग्यस्वरूप हाकाहाकी उडाए । जनताको स्तरबाट अहिले निर्वाचनको परिणाम आउँदा भने यो होजस्तो लाग्यो किनकि सत्तासीन गठबन्धनका नेताहरूले भनेजस्तो गठबन्धनका पार्टीहरूमा भोट ट्रान्सफर भएको देखिएन । देशका दुई ठूला राजनीतिक दलहरूले कसैसँग गठबन्धन नगरिकन १६५ सिटमै आफ्ना उम्मेदवारहरू उठाउन सक्थे तर त्यो हक ‘गठबन्धन’ शब्दावलीले एकाएक खोसिदिएको छ । त्यसैले काँग्रेस र एमालेका धेरै कार्यकर्ताहरू यो मिलीभगत राजनीतिको चेपुवामा परेर सहिद समेत बनेका छन् विचरा !

गठबन्धनको बैशाखी समातेर संघीय चुनाव यो पटक प्रत्यक्षतर्फ ८५ सिटमा उम्मेदवारी दिएको नेपाली काँग्रेस मात्र ५७ सिटमा चाउरिएको छ । गज्जबको कुरा त उसले नेकपा एमालेले भन्दा १३ सिट बढी प्रत्यक्षमा ल्याउँदा समेत समानुपातिकतर्फ कम भोट ल्याएकाले एमालेले ल्याएभन्दा २ सिट अर्थात् ३२ सिटमा चित्त बुझाउनु परेको छ ।

प्रसिद्ध लेखक तथा वामपन्थी राजनीतिज्ञ मोदनाथ प्रश्रित भन्छन् –‘कम्युनिष्ट बिग्रेपछि खुवाजस्तै दुर्गन्धित हुन्छ ।’ यो चुनावले त्यो कुरा स्पष्ट देखायो । कुनै माथापच्ची नगरिकन चुनावी परिणामलाई विश्लेषण गर्ने हो भने यतिखेर सत्तासीन गठबन्धनको धोती फुस्केको छ । अहिले यही हालतमा काँग्रेस संसदमा ठूलो राजनीतिक पार्टी भए पनि उसको नेतृत्वमा माओवादी, समाजवादी, लोसपा र जनमोर्चाका सांसदहरूको बलले मात्र सरकार गठन हुन नसक्ने देखिन्छ । जसरी पनि काँग्रेसले अब आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि सिके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई नलिई सुखै छैन ।

उता, दोस्रो ठूलो दल नेकपा एमालेको नेतृत्वमा सरकार बनाउनका लागि काँग्रेस र रविको पार्टीलाई छाडेर अन्य सबै दल मिलाउँदा मात्र सरकार गठन हुन सक्छ । यसरी बन्ने सरकारहरू जहिले पनि लोहोराको बिटो हुने हुनाले तिनले स्थायित्व र विकासका कामहरू गर्न नसक्ने जगजाहेर नै छ । २८ वर्षपछि संसद ‘हङ्ग पार्लियामेन्ट’ भएको अवस्था छ ।

केही राजनीतिक विश्लेषकहरूले यो बेलामा अस्थिरता निम्त्याउने स–साना पार्टीहरूलाई ‘बाइकट गर्ने नीति अख्तियार गर्दै’ काँग्रेस र एमालेले मिलेर पाँच वर्षसम्म मसक्क आँटेर दह्रो सरकार बनाउने हो भने सानातिना भुरेटाकुरे दलहरूको राजनीतिमा ‘जिना हराम’ हुन्छ । तर के यो सम्भव छ ? राजनीतिक इथिक्सलाई बिगारेर यसरी सरकार बनाउनु भनेको सर्वसत्तावादी सोच हो । यही गर्नु थियो भने यत्रो हङ्कीडङ्की गरेर चुनावको नाटकै किन गर्नु पथ्र्याे ? यसरी आङ्कलन गर्नेहरू पनि अहिले राजनीतिक विश्लेषणका बजारमा बग्रेल्ती देखिएका छन् ।

भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको उदय हुनुभन्दा अघि दुई कार्यकाल भारतीय राष्ट्रिय काँग्रेसका नेता मनमोहन सिँहको नेतृत्वमा सरकार चल्यो । सो दुवै सरकारमा टिक्न त्यहाँ पनि यहाँजस्तै महागठबन्धन भनेर चुनाव लडिएको थियो । आफ्नो पक्षका मतदाता, सपोर्टर या जनतालाई आफ्नो चुनाव चिन्हभन्दा बाहिर मत खसाल्ने बानी लगाउन थालियो भने तिनीहरू जहिल्यै नयाँनयाँ चुनाव चिन्ह भएका नेता या उम्मेदवारहरूका कोठामा मत हाल्न पुग्छन् ।

त्यसैले गठबन्धन संस्कृति राजनीतिक स्थायित्वका लागि र अझ वैचारिक राजनीतिक अभियानका लागि महाघातक नै हुन्छ । यो भारतको अनुभवबाट सिकिने पाठ हो । त्यहाँ अझै कति वर्ष भारतीय राष्ट्रिय काँग्रेस सत्तामा जान नसक्ने भएर राजनीतिक रुपमा प्यारालाइसिस नै भएको छ । गठबन्धनको यो सुक्रीविक्रीमय बजारू अपसंस्कृतिले काँग्रेसको वीपीवादमा मुच्का मात्र लाग्दैन न कि एमालेको बहुदलीय जनवादलाई समेत निराशाको डढेलोले खाइदिन सक्छ । अनि त्यसै बेलामा रविहरूजस्ताको उदय एकाएक रूपमा हुन पुग्छ । यो भनेको निराशाको सम्बोधन हो । युवा भोटरहरू जहिल्यै तरल हुन्छन् ।

यो मिलिभगतको राजनीति अब आउँदो पाँच वर्ष पछिको चुनावमा नहोस् भन्ने मतदाताको असीम चाहना रहेको छ । क्याडर बेस पार्टीका रूपमा विचारको राजनीति गर्छौं भन्ने कम्युनिष्टहरूको कानमासमेत यसपटक रविको पार्टीले दह्रोसँग घन्टी बजायो । काठमाडौँको नतिजालाई हेर्दा त्यो छर्लङ्ग छ । माओवादी केन्द्र भ्यालीमा क्लिन स्वीप हुन पुगेको छ भने एमालेले बलैले १ स्थानमा जित्न सफल भएको छ । आउँदो चुनावसम्म काँग्रेसको समेत माओवादी र एमालेको हविगत नहोला भन्न सकिन्नँ ।

‘सत्ता केन्द्रित राजनीति गरेर महको माखो बन्न पल्केका नेपाली कम्युनिष्टहरू समेत यतिखेर पतनको महाअभियानमा अग्रसर छन्’ भन्न अब सचेत नेपालीले कुनै आइतबार पर्खनु पर्दैन । काँग्रेसका प्रखर वैचारिक नेता स्व.प्रदीप गिरी भन्थे –‘कम्युनिष्टलाई बिगार्न कसैले केही गर्नै पर्दैन । एकपटक सत्तामा पु¥याइदिए पुग्छ ।’ भनाइले अथ्र्याएको अर्थ श्रद्धेय पाठक महोदयहरूले आफूअनुकूल मिलाएर बुझ्दा हुन्छ तर एउटा कुराचाहिँ के पक्का हो भने गठबन्धन त्यस्तो ‘ बुमर्‍याङ ’ हो जसले वैचारिक राजनीतिलाई शनैःशनैः रसातलतर्फ लैजान्छ । यसमा कुनै माथापच्ची गर्नै पर्दैन ।

नेपालमा वैचारिक राजनीतिको स्खलन हुने गरी भर्खर गठबन्धनको गोरेटो खनियो अब महागठबन्धन र वृहत् महागठबन्धनजस्ता शब्दावलीमा भविष्यमा गरिने मिलीभगतले वैचारिक राजनीतिलाई ‘स्वाहा’ गर्ने दिन नजिकनजिक आउन लागेका हुन भन्दा अत्युक्ति हुने छैन ।