निर्वाचनपछि वाणिज्य बैंकमा १५ अर्ब २४ करोड निक्षेप थपियो « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


निर्वाचनपछि वाणिज्य बैंकमा १५ अर्ब २४ करोड निक्षेप थपियो


962
Shares

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि वाणिज्य बैंकहरूमा १५ अर्ब २४ करोड निक्षेप थपिएको छ ।

निर्वाचनअघि दुई दिनमा पाँच अर्ब ४७ करोड निक्षेप बाहिरिए पनि निर्वाचनलगत्तै रकम थपिएको नेपाल बैंकर एसोसिएसनको तथ्यांकले देखाएको छ ।

निर्वाचनपछि दुई सातामा नेपाली मुद्रामा १२ अर्ब ७४ करोड र विदेशी मुद्रामा एक अर्ब ८८ करोड निक्षेप जम्मा भएको छ  । मंसिर १६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ४४ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ  ।

निक्षेप थपिँदै गए पनि कर्जा लगानी भने सुस्त देखिन्छ । चुनावयता हालसम्म तीन अर्ब २० करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । मंसिरयताको तथ्यांक हेर्ने हो भने यसबीच एक अर्ब एक करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।

हालसम्म बैंकहरूले ४२ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप बढ्ने र कर्जामा सुस्तता आउँदा कर्जा निक्षेपको अनुपात (सिडी रेसियो)मा पनि क्रमशः सुधार आइरहेको छ । यसको अर्थ बैंकहरूको कर्जा दिने क्षमतामा वृद्धि भइरहेको छ  ।

संघको तथ्यांकअनुसार मंसिर १६ गतेसम्म बैंकहरूको सिडी रेसियो ८६.७ प्रतिशत पुगेको छ । गत मंसिर ९ गतेसम्म कर्जा निक्षेपको अनुपात ८६.८६ प्रतिशत थियो । त्यसअघि गत मंसिर २ गतेसम्म कर्जा निक्षेपको अनुपात ८६.९१ प्रतिशत कायम भएको थियो ।

गत साउनदेखि कात्तिकसम्म आइपुग्दा कर्जा निक्षेपको अनुपातमा सुधार आइरहेको देखिन्छ । साउनमा यस्तो अनुपात औसतमा ८८.७ प्रतिशत थियो  । त्यसपछि भदौमा ८७.२१ प्रतिशतमा झर्‍यो । कर्जाको तुलनामा निक्षेपको हिस्सा बढ्दै जाँदा यस्तो अनुपात घट्ने क्रम बढ्दै गइरहेको तथ्यांकले देखाउँछ  ।

असोजमा ८७.२ प्रतिशत पुगेको यो अनुपात कात्तिकसम्म आइपुग्दा ८७.१९ प्रतिशत पुगेको थियो । राष्ट्र बैंकले ९० प्रतिशतभन्दा बढी पुग्न नदिन निर्देशन जारी गरेको अवस्था छ  ।