२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


दिपक मनाङेको कामबाट सिक्नुपर्छ : बेदुराम भुसाल


6.708k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङउर्फ दिपक मनाङेबाट सिक्नुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंको तिनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा स्वागत गर्दै उहाँले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताउनुभएको हो ।

महासचिव भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने तर्क समेत गर्नुभयो । गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको गरेको भन्दै महासचिव भुसालले अब भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने पनि बताउनुभयो । त्यस अवसरमा उहाँले गुरुङले वर्तमानमा सिक्न लायक काम गरेको र भविष्यमा पनि राम्रो काम गर्दै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने र त्यसमा आफू पर्ने भएकाले कसैले पनि मन्त्रीका लागि आफूलाई सिफारिस गर्नु नपर्ने दावी गर्नुभयो । उहाँले युवा तथा खेलकुद मन्त्रीको रुपमा आफूले गण्डकी प्रदेशमा अरु प्रदेशले भन्दा धेरै काम गरेको जिकीर समेत गर्नुभयो । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गराउन आफूले मन्त्रीको रुपमा महत्वपूर्ण निर्वाह गरेको उहाँले बताउनुभयो ।

मनाङ प्रदेश २ का स्वतन्त्र सांसद समेत रहनु भएका गुरुङ सोमबार जनसेवा गर्ने भन्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको थियो । उहाँले आफू सो पार्टीमा प्रदेशको मुख्यमन्त्री पाउन र मन्त्री बन्नका लागि नआएको पटकपटक दोहोर्‍याउनु भयो ।