Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


जहाजमा समस्या, यात्रुलाई सास्ती


1.1k
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमको व्यवस्थापनको लापरबाही र जहाजमा आउने प्राविधिक समस्याले समय समयमा यात्रुले सास्ती भोग्दै आएका छन् । सेवा स्तरीय नभएको, महँगो भएको तथा सेवाबारे विभिन्न समस्या रहेको लगायतका गुनासा बढ्दै गएको छ ।

निगम व्यवस्थापन चुस्त नहुँदा आन्तरिकदेखि अन्तर्राष्ट्रिय तर्फका यात्रुले सास्ती भोग्दै आएका छन् । कहिले उडान अनुमति नै नलिई यात्रुलाई विमान स्थलमा बोलाएर कहिले टिकट लिएका यात्रुलाई जहाजका सबै सिट भरिभराउ भयो भनेर कहिले बोर्डिङ पास लिइसकेका यात्रुलाई उडान नगराएर समस्यामा पार्दै आएको निगमका जहाजमा आउने प्राविधिक समस्याका कारणसमेत यात्रुले सास्ती भोग्न थालेका छन् । त्यस्तै पछिल्लो सास्ती बुधबार बैङ्कक उडेको निगमको न्यारोबडी विमानमा देखिएको प्राविधिक समस्याले जहाजमा सवार १५२ जना यात्रुले भोग्नुपरेको छ ।

उक्त उडानका क्रममा विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेतपछि जहाज बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ हुन पुगेको थियो । जाँच गर्दा जहाजमा कुनै खराबी नदेखिएपछि कम्पार्टमेन्टबाट बाहिर निकालिएको कार्गो ओरालिएको थियो । करिब चार घण्टापछि जहाज गन्तव्यमा पुगेर बिहीबार नेपाल फर्किएको छ ।

उक्त उडानमा देखिएको भनिएको समस्याकै कारण निगमले शुक्रबारको काठमाडौंं–बैङ्कक उडानको समयतालिका परिवर्तन गरेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।