काठमाडाैं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महिला सांसदको संख्या कम हुँदा सीमान्तकृत समुदायका पुरुष समेत संसद हुन नपाउने भएका छन् । प्रतिनिधिसभामा महिला उम्मेदवार न्यून निर्वाचित भएपछि समानुपातिक बन्द सूचीमा परेका सीमान्तकृत समुदायको प्रतिनिधित्व घट्ने भएको हो । दल र स्वतन्त्र गरी २ सय २५ जना महिलाले उम्मेदवारी दिए पनि अधिकांश महिलाहरू पराजयभएसँगै समानुपातिक बन्द सूचीमा समावेश पुरुष उम्मेदवारहरू संसदमा आउने सम्भावना कम देखिएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटका लागि २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ जना महिला उम्मेदवार थिए । तीमध्ये एमालेबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, नेपाली काँग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टीबाट १–१ महिला मात्र निर्वाचित भएका छन् । एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, बारा–३ मा ज्वालाकुमारी साह र कास्की–२ मा विद्या भट्टराई निर्वाचित हुनुभएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ–२ मा सोविता गौतम र ललितपुर–३ मा तोसिमा कार्की निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले कैलाली–१ बाट जित्नुभएको छ । यो सँगै अहिले सम्म सबै दलबाट ८ जना मात्रै निवर्चचित हुनुभएको छ भने सुनसरी ३ बाट भगवती चौधरीको अग्रता कायम छ । उहाँले जित निकाल्ने करिब पक्का जस्तै देखिन्छ । चौधरीको जीत निस्कियो भने संसद्मा प्रत्यक्ष तर्फ महिला सांसदको प्रतिनिधित्व ९ जना पुग्ने छ ।
यो समाचार आजकाे नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्