स्वार्थले मधेश केन्द्रित दलको आधार इलाका ध्वस्त, शीर्ष नेताको भावी राजनीति संकटमा « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


स्वार्थले मधेश केन्द्रित दलको आधार इलाका ध्वस्त, शीर्ष नेताको भावी राजनीति संकटमा


2.119k
Shares

आम निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी रहँदा मधेश केन्द्रित दलहरुको अवस्था आधार क्षेत्रमै नाजुक देखिएको छ । २०६२/०६३ सालको जनआन्दोलनपछि भएको मधेश आन्दोलनले मुलुकको केन्द्रिय राजनीतिमा हस्तक्षेप गर्ने हैसियतमा पुगेका मधेशकेन्द्रित दलहरुलाई यसपटकको चुनावमा भने अस्तित्व जोगाउनँनै हम्मे हम्मे भएको छ । व्यक्तिगत र सत्ता स्वार्थले मधेश केन्द्रित दलको आधार इलाकानै ध्वस्त मात्रै भएको छैन शीर्ष नेताको भावी राजनीति पनि संकटमा परेको छ ।

कुनैबेला मधेशको आइडल मानिने जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव यसपटक पराजित हुनुभएको छ । मधेशको मुद्धा उठाएर भूमिगत रहेका जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउतले अध्यक्ष यादवलाई सप्तरी २ मा दोब्बर मतले पारजित गर्नुभयो । अब संसदीय राजनीतिमा सीकेको उदय जवर्जस्त रुपमा भएको छ । मधेश आन्दोलन यादव नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरमकै अगुवाईमा भएको थियो । मधेश आन्दोलनकै जगमा मुलुक संघीयतामा जान सम्भव भएको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।

मधेश आन्दोलनपछि भएको पहिलो संविधानसभामा फोरमले ५३ सिट ल्याएको थियो । दोस्रो संविधानसभाको चुनावसम्म आउँदा पार्टी फुटेपनि केन्द्रिय राजनीति त्यसमा पनि सरकार बनाउन र गिराउन मधेश केन्द्रित दलसँग पर्याप्त अंक थियो । संविधान जारी भएपछि भएको पहिलो संसदीय निर्वाचनमा मधेश केन्द्रित दलले राष्ट्रिय राजनीति र सरकार गठन गर्न तथा गिराउनसम्मको हैसियत गुमाए । यद्यपि मधेश प्रदेशमा भने मधेशकेन्द्रित दल सरकार गठन गर्न सफल भए । तर, २०६४ सालपछि भएका निर्वाचनको मतलाई हेर्ने हो भने मधेशकेन्द्रित दलको आधार क्षेत्रमै तीब्र क्षयीकरण भईरहेको छ । मधेश आन्दोलनपछि जन्मिएको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पनि छिन्नभिन्न भईसकेको छ । तमलोपाका संस्थापक महन्थ ठाकुरले अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गर्नुभएको छ । तर, यो पटकको चुनावमा लोकतान्त्रिक समाजवादीको अवस्था पनि दयनीय देखिएको छ । लोसपाका नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा कमजोर देखिएका छन् । मधेशकेन्द्रित दलहरुको आधार क्षेत्रमै नेपाली कांग्रेस र एमालेले निरन्तर धावा बोलिरहेका छन् । जनमत पार्टी मधेश केन्द्रित पुराना र ठूला दललाई चुनौती दिँदै अप्रत्याशित रुपमा उदाएको छ ।

पुराना मधेश केन्द्रित दलभन्दा जनमतको जनमत यो निर्वाचनमा बढी देखिएको छ । कुनै बेला मधेशमा एकलौटी उपस्थिति देखाएको सद्भावना पार्टी छिन्नभिन्न भएर उसको अस्तित्व नै मेटिएको छ । २०७४ को आमनिर्वाचनमा मधेस केन्द्रित दुई दलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १९ सिट जितेका थिए । यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम ९ र राष्ट्रिय जनता पार्टी (राजपा) १० ठाउँमा विजयी भएका थिए । मधेस प्रदेशसभामा फोरमले २९ र राजपाले २५ सिट जितेका थिए । अन्य ६ प्रदेशमा एमाले र माओवादीको वाम गठबन्धनले सरकार बनाउँदा मधेसमा फोरम र राजपाको सरकार बनेको थियो । मुख्यमन्त्री फोरम र सभामुख राष्ट्रिय जनता पार्टीले लिएका थिए ।

अघिल्लो निर्वाचनमा अहिलेका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीले पश्चिम तराईबाट पनि प्रत्यक्षतर्फ केहि सिट जितेको थियो । तर,योपटक पश्चिम तराईमा कुनै बेला तत्कालिन राष्ट्रिय जनता पार्टीका नेता रहनुभएका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी उदाएको छ । नागरिक अन्मुक्ति पार्टीले मुलुकका स्थापित र ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र जस्ता पार्टीलाई चुनौती दिएको छ । सारांसमा मधेश केन्द्रित राजनीतिक दलका नेताहरुको व्यक्तिगत र सत्तास्वार्थ राजनीतिले आधार क्षेत्रमै तीव्र क्षयीकरण भईरहेको छ ।