
काठमाडौं । सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपको नयाँ ढाँचा सार्वजनिक भएको छ ।
आगामी संस्करणको विश्वकप यसअघिका दुई संस्करणभन्दा फरक ढाँचामा खेलाइने छ । आगामी संस्करणबाट सहभागी टोलीको संख्या २० पुर्याउने आइसीसीले जनाएको छ ।
सन् २०२१ र २०२२ मा भएको जस्तो सुपर १२ को दोस्रो चरण प्रतियोगिता हुने छैन । आगामी संस्करणमा सहभागी २० टोलीलाई पाँच–पाँच टोलीको चार समूहमा विभाजन गरिने छ ।
प्रत्येक चार समूहबाट शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि चार–चार टोलीको दुई समूहमा विभाजन गरिने छ । सुपर ८ का दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि फाइनल हुने छ ।
गत नोभेम्बर १३ मा मेलबर्नमा भएको फाइनलमा पाकिस्तानलाई पराजित गर्दै इंग्ल्यान्डले टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो । टी–ट्वान्टी विश्वकपको पछिल्लो दुई संस्करणमा पहिलो चरणमा चार टोली दुई समूह रहेका थिए ।
जसमा छनोट चरणबाट प्रतियोगितामा प्रवेश गरेका टोलीहरू र अघिल्लो टी–२० विश्वकपमा नवौं देखि १२ औं स्थान हासिल गर्ने टोलीहरू रहेका थिए । हालसम्म १२ टिमले सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्