प्रधानमन्त्रीका लागि साथीहरुसँग सल्लाह गर्छु: नेता सिंह « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


प्रधानमन्त्रीका लागि साथीहरुसँग सल्लाह गर्छु: नेता सिंह


195
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताउनुभएको छ ।

आज मंगलबार बिहान काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ७ हजार १ सय ४० मत प्राप्त गरेर विजयी बन्नुभएका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरुसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताउनुभएको हो । उहाँले मतदाताको भनाइ र मागहरुलाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने र सुझाव दिन पाउने गरी गुनासो सुन्ने काममा आफू निरन्तर लाग्ने बताउनुभयो ।

उहाँले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका लागि काम गर्ने बताउनुभयो । उहाँले काठमाडौंका नदीहरु बागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाइ सफा बनाउने र प्रदूषण नियन्त्रणका लागि काम गर्ने बताउनुभयो ।

नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताउनुभयो । उहाँले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको पनि बताउनुभयो । नेता सिंहले देशभरबाट जितेर आएका कांग्रेका नेताहरुसँग सल्लाह लिएर आफू अघि बढ्ने बताउनुभयो ।