२५ मंसिर २०८०, सोमबार | Tue Dec 12 2023


महिलाविरुद्धको हिंसा अन्त्य गर्न प्रतिनिधिसभा बैठकमा संकल्प प्रस्ताव प्रस्तुत


0
Shares

काठमाडौं, भदौ ८ । प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ ।

आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्ताव प्रस्तुत गरेका हुन् । संकल्प प्रस्तावमा नेपालको संविधानबमोजिम नेपाल पक्ष राष्ट्र भएको महिलामाथि हुने सबै प्रकारका विभेदविरुद्धको महासन्धिलगायत अन्तर्राष्ट्रिय अभिसन्धिहरुले शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक एवं अन्य कुनै पनि प्रकारको महिला हिंसा अन्त्य गर्न माग गरिएको छ ।

दाइजोको निहुँमा हुने कुटपिट, अन्धविश्वास, शोषणविरुद्ध जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस् भन्ने प्रस्तावमा उल्लेख छ ।

बैठकमा नेकपाकी सांसद विन्दा पाण्डेले महिला हिंसाका घटनाले पराकास्टा नाघ्न थालेको बताइन् । यसले हिंसाविरुद्ध सडकमा हुने प्रदर्शन पनि नियन्त्रण बाहिर जाने खतरा देखिएको उनले बताइन् ।

महिला हिंसा रोक्न सरकारलाई निर्देशन दिने संकल्प प्रस्तावको पक्षमा पुरुष सांसदहरु पनि उभिएका छन् । नेकपाका सांसद खगराज अधिकारीले आफ्नो जीवनरभर महिला हिंसाविरुद्ध लड्ने संकल्प गरे । यदि हिंसामा परेका महिलासँग पार्टी वा संसदको चुनावमा आफ्नो प्रतिस्पर्धा हुने अवस्था आए मैदान छाडेर सम्मान प्रकट गर्ने उनले बताए ।

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले महिला हिंसाबारे छलफल भइरहँदा संसदमा धेरै कुर्सी खाली रहेको भन्दै पहिले सोच परिर्वतन गर्नुपर्ने बताए ।