मतदान गर्न काठमाडौं छाड्नेको संख्या बढ्यो (तस्बिरहरु) « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


मतदान गर्न काठमाडौं छाड्नेको संख्या बढ्यो (तस्बिरहरु)


65
Shares

काठमाडाैं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल बढेको छ ।

भोट हाल्न दुई दिन मात्रै बाँकी रहेसँगै कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढेको हो ।

मंसिर ४ गते हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या अझ बढ्ने देखिएको छ ।

भोट हाल्न कोटेश्वर क्षेत्रबाट गाउँ फर्किन तयारी गरेका अधिकांश मतदाताहरुले यसअघि नेताहरुले प्रतिबद्धता जनाएअनुसार विकासका कामहरु गर्नुभन्दा पनि आफ्ना लागि मात्रै काम गरेको बताए । उनीहरुले यस पटक विकासका काममा लाग्न आग्रह गरेका छन् ।

उनीहरुले आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरु अघि बढाउन आग्रहसमेत गरेका छन् ।

कतिपय राजनीतिक दलहरुले भोट हाल्नका लागि आफ्ना समर्थकहरुलाई गाउँ लैजान निःशुल्क गाडीको व्यवस्था नै गरेका छन् । कोही भने आफ्नै खर्चले मतदानको आफ्नो अधिकार प्रयोगका लागि गाउँ फर्किएको बताउँछन् ।