काठमाडौं । आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ। मंसिर ४ गते एकै चरणमा हुने निर्वाचनबाट चयन हुने जनप्रतिनिधिहरूले बनाउने नीति र थितिले नेपाल र नेपालीको भविष्य मार्ग कोर्नेछ। सातै प्रदेश र संघीय संसद्मा रहेर जनप्रतिनिधिले कानुन मात्र होइन, सरकार पनि सञ्चालन गर्नेछन्।
निर्वाचन सम्पन्न नहुँदै परिणामबारे विभिन्न अड्कलबाजी गर्न थालिएको छ। निर्वाचन परिणाममा विदेशमा रहेका नेपाली निर्णायक हुन सक्ने देखिएको छ। विदेशमा रहेका लाखौं नेपालीले निर्वाचनमा मतदान गर्न नपाए पनि आआफ्नो परिवारका सदस्यको मत प्रभावित पार्ने देखिन्छ। नेताले होइन, नीति र प्रणाली (सिस्टम) ले देश सञ्चालन भएको देखेका विदेशिएका नेपाली मुलुकभित्रको अव्यवस्थाप्रति असन्तुष्ट छन्।
अपवादबाहेक विदेशमा रहेका सदस्य नै नेपालमा रहेका परिवारको भरणपोषणको मुख्य स्रोत हुन्। यसैकारण विदेशमा रहेका परिवारका सदस्यले भनेको कुरा घरमा रहेकाले नकार्ने अवस्था नहुन सक्छ। गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकासहित सहरी क्षेत्रमा विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका परिवारका सदस्यलाई प्रभावित गरेको देखियो।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्