
काठमाडौं । मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नम्बर –१ का उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्रता दिएका छन्।
विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरु पनि पुरानै आश्वासनका बोकेर मत माग्न घरदैलोमा व्यस्त भएका हुन् । उम्मेदवारहरुको घरदैलोमा स्थानीय किसानहरुले भने मल नपाएको गुनासो गरेका छन् । अहिले देशभरका उम्मेदवार आफ्नो अन्तिम प्रचारप्रसारका लागि दौड धूप गरिरहेका बेला भक्तपुर निर्वाचन क्क्षेत्र नम्बर –१ मा पनि चुनावी चटारो राम्रै देखिन्छ ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर आफूले जिते सडक, स्वास्थ्य, शिक्षा र खानेपानी लगायतको व्यवस्था गरिदिने भन्दै पुरानै आश्वासनकासाथ मतदातालाई आफ्नो पक्षमा पार्न दौड धूप छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आधार क्षेत्रका रूपमा चिनिने यस क्षेत्रमा पार्टी केन्द्रीय सचिव प्रेम सुवाल दोस्रो कार्यकाका लागि मैदान हुनुहुन्छ भने सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्रका सुनिल गोठे र नेकपा (एमाले) बाट नवराज गेलाल मैदानमा हुनहुन्छ ।
गत निर्वाचनमा नेमकिपाका सुवालले ३३ हजार ७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बाबुबाजा जोशीले १७ हजार ८ सय १८ मात्रै मत प्राप्त गर्नुभएको थियो भने वाम गठबन्धनका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गर्नुभएको थियो । यो निर्वाचनमा पनि सत्ता गठबन्धन र एमालेसामु नेमकिपा प्रमुख चुनौती देखिएपनि उम्मेदवारहरुले यस पटक मतदाताले नयाँ पार्टी रोज्ने बताउदै चुनावी मैदानमा होमिएका छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर –१ मा चार जना स्वतन्त्रसहित कुल १४ जना उम्मेदवारहरु मैदानमा छन् । प्रदेशसभातर्फ भने क्षेत्र–१ (ख) नेमकिपाकै प्रभाव क्षेत्र देखिए पनि क्षेत्र–१ (क) मा भने अवस्था कमजोर छ । क्षेत्र–१ (ख) मा नेमकिपाका सुरेन्द्रराज गोसाईं दोस्रो कार्यकालका लागि मैदानमा हुनुहुन्छ भने क्षेत्र–१ (क) मा नेमकिपाका मीनबहादुर बाटा मैदानमा हुनुहुन्छ । क्षेत्र–१ (क) मा सत्ता गठबन्धनकातर्फबाट कांग्रेसका सुरेश श्रेष्ठ र एमालेबाट मोहनवीर श्रेष्ठलगायत १८ जना मैदानमा छन् । उनीहरु प्रायः सबैले नगरकोट सडक खण्ड स्तरोन्नतिको कामदेखि स्वास्थ्य, शिक्षा खानेपानी लगायतका क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने भन्दै मतदानसामु हारगुहार गर्दै आफ्नो प्रचारप्रसारलाई तीब्रता दिएका छन् ।
यता, उम्मेदवारहरु पुरानै आश्वासन लिएर मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम प्रचारप्रसारमा जुटिरहेका बेला यस क्षेत्रका स्थानीय किसानहरुले भने मल नपाएको दुखेसो गरेका छन् । भेटिएका अधिकांश मतदाताहरुले सबै जसो दल र उम्मेदवारहरूप्रति वितृष्णा व्यक्त गर्दै धान रोप्ने समयमा नपाएको मल गहुँ लगाउने मध्य सीजनमा समेत नपाएको गुनासो गरेका छन् ।
भक्तपुरका किसानहरुले हाल बजारमा रसायनिक मल प्रतिबोरा २७ सय रुपैयाँसम्म तिर्न बाध्यता रहेकाे बताएका छन् । कतिपय किसानले पैसा तिर्दा समेत मल पाउन नसकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्