Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं, भदौ ७ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबार विश्वकर्मालाई सर्वोच्च अदालतको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।

विश्वकर्मा बुधबार ढिला अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण बिहीबारका लागि अदालतमा उपस्थित हुन भनिएको थियो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुका कारणसहित २४ घन्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको थियो । सोही आदेशअनुसार बुधबार विश्वकर्मा अदालतमा उपस्थित भएका थिए ।

गैरकानुनीरूपमा पक्राउ गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा आइतबार वीरेन्द्र विश्वकर्माले रिट निवेदन दायर गरेका थिए ।

विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीशहरू चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेश आएकै दिन राति पुनः विश्वकर्मा पक्राउ परेका थिए ।

विश्वकर्मालाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौं प्रहरीले कारबाही अघि बढाएको थियो । रासस