
सिन्धुली । सिन्धुलीमा विगतका वर्षहरुको तुलनामा यस वर्ष अनुकूल मौसम भएका कारण महाभारत र कमलाखोंच क्षेत्रमा तोरी-सरस्यु खेती सप्रिएपछि किसान खुशी भएका छन् ।
तोरी र सरस्युबाट चिल्लो पदार्थ तेल निकाली मानिसहरुले खाद्य सामग्रीमा प्रयोग गर्ने गर्दछन् । यस वर्ष सिन्धुलीको कालाखोंच क्षेत्रका रानीबास, हत्पते, निपाने, सिर्थौली, हर्षाही, टांडी र दूधौली लगायतका क्षेत्रका किसानहरुले २० हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित रुपमा तोरी र सरस्युको खेती गरेका छन् ।
सिन्धुलीको कमलाखोंचमा उत्पादन भएको तोरी र सरस्यु जिल्ला सदरमुकाम सिन्धुली माडीका साथै छिमेकी विभिन्न जिल्लाहरुका व्यापारीहरुले बिक्री–वितरणमा लैजाने गर्दछन्। विगत लामो समयदेखि सिन्धुली जिल्लाको कमलाखोंच, महाभारत र मरिणखोला क्षेत्रमा हिउँदको समयमा अत्यधिक रुपमा तोरी र सरस्यु खेती गरिन्छ ।
सिन्धुलीको कमलाखोंचमा लगाइने तोरी र सरस्युका जातहरुमा सरस्यु रैची, सानोतोरी, ठूलो तोरी मध्धे रैची र ठूलो तोरीको खेती अत्यधिक हुने गरेको छ । तोरी र सरस्यु खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नु भन्दा आफैंले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने भएकाले किसानहरु तोरी खेतीप्रति आकर्षित हुँदै आएका हुन् ।
कृषि ज्ञानकेन्द्र सिन्धुलीका अनुसार यस वर्ष सिन्धुलीकोे कमलाखोंच क्षेत्रमा ४० हजार मेट्रिक टन तोरी र सरस्यु उत्पादन गर्ने अनुमान गरिएको छ । उत्पादित तोरी र सरस्युको बिक्री वितरणबाट करिब ५ करोड रुपैयाँ आम्दानी हुने समेत अनुमान गरिएको छ । तोरी र सरस्युको खेतीले सिन्धुली जिल्लाको कमलाखोंच क्षेत्रका किसानहरुको आर्थिक जीवनस्तरमाथि उकास्न समेत मदत पुगेको छ ।
विगत परम्परागत रुपमा गरिने अन्य अन्न बालीको तुलनामा व्यवस्थित रुपमा गरिने तोरी-सरस्युको खेतीले बढी आम्दानी हुने र जीविकोपार्जनमा समेत सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्