मधेश प्रदेशमा ट्राफिक कारबाहीबाट ३ महिनामा २४ लाख राजस्व संकलन « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


मधेश प्रदेशमा ट्राफिक कारबाहीबाट ३ महिनामा २४ लाख राजस्व संकलन


52
Shares

काठमाडौं । मधेश प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथिको कारबाहीलाई तीब्रता दिएको छ । प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तीब्र रुपमा कारबाही सुरु गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

आठ वटै जिल्लामा ट्राफिक नियमविपरीत चलेका तीन हजार ७ सय २० सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाहीबाट २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रवक्ता भण्डारीले बताउनुभयो । जुन गत आर्थिक वर्षको तुलनामा झन्डै ६ लाखले वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा मधेश प्रदेश ट्राफिक प्रहरीले गरेको दुई हजार ९ सय ६९ सवारीसाधनको कारबाहीबाट १८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

यसै आर्थिक वर्षको साउन, भदौ र असोज गरि तीन महिनाको अवधिमा प्रदेशभरिमा १४ सय ५२ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर १ सय ३० जनाको मृत्यु भएको जनाईएको छ । मृत्यु हुनेमा ८९ जना पुरुष, २८ जना महिला, १३ जना बालबालिकाका मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।