दार्चुला । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा ओलीका भाषणले फिर्ता नहुने बताउनुभएको छ ।
लोकतान्त्रिक वाम गठबन्धन दार्चुलाद्वारा गोकुलेश्वरमा आयोजित बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भूमि फिर्ता ल्याउन भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको हो । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो तर अहिले भारतले अतिक्रमण गरेको छ’ –उहाँले भन्नुभयो ।’
ओलीले चुनावी आमसभाहरूमा आफू एक्लैले चुच्चे नक्सा छापेको भनेर हल्ला गरिरहेको पनि प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भन्नुभयो । नेपालको पुरानो नक्सालाई परिवर्तन गरेर भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई नयाँ नक्सामा समावेश गर्न सबै दलले सहमति गरी संसद्बाट पारित गरी नक्सा छापिएको देउवाले बताउनुभएको छ ।
उहाँले दार्चुलाका विकास र समृद्धिका लागि यहाँका पर्यटकीय स्थलहरूको विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ । अपि हिमाल, नाम्पा हिमाल, राष्ट्रै सातौंधाम मालिकार्जुलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । दार्चुलामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सबैलाई जिताउन मतदातालाई आग्रह गर्दै प्रधानमन्त्री देउवाले जिताएर पठाए मन्त्री बनाउने पनि आश्वासन दिनुभएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्