काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ ।
निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । राजनीतिक दलहरू निर्वाचनमा होमिएका छन् । सर्वसाधारणसँगै राजनीतिक दलबीच अबको राष्ट्रपति को हुने भन्ने चासो व्यक्त भइरहेको छ ।
निर्वाचनमा दुई गठबन्धनसँगै स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय जनमोर्चाको एउटा गठबन्धन छ । अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाल (जसपा), राप्रपा, राप्रपा नेपालको तालमेल रहेको छ ।
सत्तारूढ गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा राष्ट्रपति को हुने भन्नेबारे निर्णय गरिसकेको छैन । उसले बहुमत ल्याएको अवस्थामा प्रमुख पदमा भागबन्डा गरेर अगाडि बढ्ने निश्चित प्रायः छ । सत्तारूढ दलकाबीचमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख को हुने भन्नेबारेमा अझै निर्णय गर्न बाँकी नै छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्