संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्यसञ्चालन मस्यौदा पेश • Image Khabar Image Khabar


संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्यसञ्चालन मस्यौदा पेश


Imagekhabar
३ असार २०७५, आईतवार ०६:५२

संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्यसञ्चालन मस्यौदा पेश

काठमाडौं, असार ३ । संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्यसञ्चालन मस्यौदा नियमावली प्रतिवेदन संसदमा पेश गरिएको छ ।

आइतबार बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीका मस्यौदाकार समेत रहेका सांसद कृष्णभक्त पोखरेलले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन मस्यौदा नियमावली प्रतिवेदन २०७५ प्रस्तुत गरेका हुन् ।

नियमावलीमा संसदीय सुनुवाइ समिति १५ सदस्यीय रहने प्रस्ताव गरिएको हो । जसमा १२ जना प्रतिनिधिसभाबाट र ३ जना राष्ट्रियसभाबाट हुने छन् ।

नियमावलीमा राष्ट्रपतिको सम्बोधन, महाभियोग, राजस्व र व्ययको अनुमान, सन्धी सम्झौता पारित कसरी गर्ने भन्ने विषय सहमतिमा टुंग्याइएको पोखरेलले बताए ।

नियमावलीमा संयुक्त बैठक र अधिवेशन कसले आह्वान गर्ने, प्रतिनिधिसभाले पारित गरेको र राष्ट्रियसभाले अस्वीकार गरेको विधेयक तथा प्रतिनिधिसभाले संशोधनसहित पठाएको तर राष्ट्रियसभा सहमत हुन नसकेको विधेयकहरु संयुक्त सदनमा पेश गर्ने लगायतका विषय रहेका छन् ।

उक्त नियमावलीमा संशोधन राख्न असार ४ र ५ गतेको समय दिइएको छ । त्यसपछि उक्त नियमावलीमाथि संघीय संसदको असार ८ गते बस्ने संयुक्त बैठकमा छलफल हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्