१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी र व्यवसायीले गरे सडक आन्दोलन


351
Shares

काठमाडाैं । ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी र व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी र व्यवसायीहरुले आज शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।

विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरु मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य हुनु परेको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो । उहाँले स्वदेशी उद्योगी, व्यवसायीहरुलाई मारमा पार्ने काम बैंक तथा वित्तिय संस्थाहरुले गरेकाले मुलुकको अनाधिकृत व्यापार फष्टायाएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

व्यवसायीहरुले सरकारद्वारा बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनिकरणका लागि सुझाव दिन गठित उच्च स्तरीय समन्वय समितिले कामै नगरेकामा पनि आक्रोश पोखेका छन् । विरोध प्रर्दशनमा महासंघ अन्तर्गतका सबै उद्योगी, व्यवसायिहरु सहभागी भएका थिए । उनीहरुले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंक भन्दा बढी ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरु पनि प्रर्दशन गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर घटाउने लगायतमा माग राखि अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकलाई समेत ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।