काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुल निकासी व्यापारमा गिरावट आए पनि मूल्य अभिवृद्धि बढी हुने केही वस्तुको निर्यात वृद्धिले उत्साह थपेको छ । पछिल्लो समय कुल वस्तु निर्यातमा महत्वपूर्ण हिस्सा ओगटेका भटमासको तेल र पाम आयलको निर्यात घटेको छ ।
यी वस्तु तेस्रो मुलुकबाट आयात भई सामान्य मूल्य अभिवृद्धिपछि भारत निकासी हुँदै आएका थिए । यस्ता वस्तुको कारोबारले मुलुकको अर्थतन्त्रलाई धेरै योगदान पुर्याउन सक्दैनन् । तर, मुलुकभित्र धेरै मूल्य अभिवृद्धि हुने वस्तु ऊनी गलैंचा, तयारी पोशाक, ऊनी फेल्ट, पोलिस्टर यार्न लगायतको निकासी वृद्धिले भने उत्साह थपेको हो ।
अर्कोतिर फलामजन्य वस्तुको निकासी सोचेभन्दा अझै बढेको छ । कृषि उपज जुस तथा चियाको निकासीमा पनि उत्साहजनक वृद्धि देखिएको छ ।
मुलुकको आयात निर्यात व्यापारलाई हेर्ने जिम्मेवारी पाएको सरकारी निकाय व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका अनुसार साउनदेखि असोजसम्ममा कुल निकासी ४१ अर्ब ८२ करोड रुपैयाँको भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३५.७ प्रतिशतले कमी हो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्