काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् ।
गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउने प्रयास स्वरूप प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्य सबै चार्टर उडानमा प्रतिबन्ध लगाएको छ ।
प्राधिकरणले आइतबारदेखि लागू गरेका हिउँदे उडान तालिका (विन्टर सेड्युल) अनुसार चार्टर उडानसँगै काठमाडौंबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाटै हुने भएका छन् । प्राधिरकणले विदेशबाट आउने चार्टर उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकेको थियो ।
गौतमबुद्ध विमानस्थलले सञ्चालन खर्चसमेत उठाउन नसकेपछि प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई हिउँदेउडान तालिकाअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्