
काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिता आइतबार सुरु भएर यही कात्तिक २६ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।
आइतबार नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । यस खेल पनि बिहान साढे ९ बजे सुरु हुनेछ ।
टियु र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ रहेका छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताका लागि सहभागी विभागीय टोली र प्रदेशले टिम घोषणा गरिसकेका छन् ।
सन् २०१७ मा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको चार संस्करणमा ५० ओभरको फम्र्याटमा आयोजना भएको थियो । गत संस्करण भने आईसीसी टी–२० विश्वकप छनोटलाई मध्यनजर गर्दै टी–२० फम्र्याटमा खेलाइएको थियो ।
प्रधानमन्त्री कपको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै सेमिफाइनल पुग्ने दुवै टिमले ५०–५० हजार तथा म्यान अफ दि सिरिजले पनि ५० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्