काठमाडौं छिर्दै पञ्जाब र हरियाणाको धुवाँ « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


काठमाडौं छिर्दै पञ्जाब र हरियाणाको धुवाँ


5.525k
Shares

काठमाडौं । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ । यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका रूपमा प्रयोग गर्न पराल डढाउने गर्छन् । विशेषगरी कात्तिक र मंसिर महिनामा पराल जलाउने गरिन्छ । तर यसबाट उत्पन्न हुने वायु प्रदूषणलाई न्यूनीकरण गर्ने विषयमा भने दुवै मुलुकबाट प्रभावकारी कदम चालिएको छैन ।

पराल जलाउनेक्रममा दुर्घटनासमेत निम्तिने गरेका छन् । नासाले गरेको एक अध्ययनअनुसार गत वर्ष मात्रै पराल जलाउनेक्रममा २२२ वटा दुर्घटना भएका थिए । यो वर्ष पनि किसानले पराल जलाउन सुरु गरिसकेका छन् । त्यसबाट निस्केको धुवाँ सीमावर्ती क्षेत्रमा छिर्न थालेको छ ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भन्नुभयो, “पञ्जाब र हरियाणा राज्यमा धान काटेपछि पराल डढाउने कार्य सुरु भएको देखिन्छ । यसबाट निक्लने प्रदूषित हावा केही समयमा काठमाडौंलगायत देशका धेरै क्षेत्रसम्म आउने सम्भावना देखिन्छ ।” पराल जलाउनुको सट्टा भारत सरकारले अन्य विकल्प खोज्नुपर्ने र यो क्षेत्रीय समस्या भएकाले नेपाल सरकारले पनि आवाज उठाउनुपर्ने पोखरेलले बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।