पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो : मौसमविद् « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो : मौसमविद्


११ कार्तिक २०७९, शुक्रबार १६:१९

325
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताउनुभएको हो । तापक्रम घटेका कारण चिसो महशुस भएको उहाँले बताउनुभयो । उहाँले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउनेहुँदा चिसो हुने गरेको उल्लेख गर्नुभयो । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पार्नुभयो । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताउनुभयो ।

उहाँले डिसेम्बर महिनाको शुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गर्नुभयो ।

वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न सुझाव दिनुभयो ।